रामेछाप । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रामेछाप जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार बन्न आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेको छ ।

नेकपा रामेछाप जिल्ला समितिको पुस ११ गते बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभातर्फ उम्मेदवार वन्न चाहने उम्मेदवारबाट आवेदन माग गरेको थियो । उम्मेदवार वन्न इच्छा राख्ने नेताहरुले आफ्नो निवेदन पेश गरेका थिए । पेश हुन आएका निवेदन माथि आवश्यक छानबिन गरी जिल्ला कार्यदलले एकमतका साथ उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, साबिक नेकपा (एस) का पोलिटब्युरो सदस्य होम बुढाथोकी तथा अखिल क्रान्तिकारीका पूर्व संयोजक एवं नेकपा केन्द्रीय सदस्य पवन कार्कीको नाम सिफारिस गरेको छ । यसैगरी प्रत्यक्षतर्फ नेत्र लामा, गुणराज ढुङ्गेल, अनन्तकुमार खड्का, दीपकराज प्रसाईं र निरबहादुर श्रेष्ठ रहेका छन् । नवयुवा (जेन्जी) समूहबाट रोशन कार्की, अनोज भुजेल र सुदीप खड्काको नाम पनि सिफारिस भएको छ ।


समानुपातिकतर्फ जितबहादुर दाहाल, शरद रसाइली, सुनिता गौतम, केशरकुमार कालिकोटे, हिमाली गोले, रामबहादुर कार्की, आङकाण्डु शेर्पा, लालुमाया माझी, सरिता खाती, अम्बरबहादुर तामाङ र किरण मोक्तानको नाम सिफारिस गरेको छ । राष्ट्रियसभाका लागि जगतबहादुर तामाङको नाम सिफारिस गरिएको नेकपा रामेछापले जनाएको छ ।




