रामेछाप । समयमा काम पुरा नगरेको भन्दै पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको छ ।

उक्त कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल ललितपुरले सिफारिस गरेको थियो । सो सिफारिस अनुसार कालोसूचीमा राख्ने निर्णय पुस १३ गते भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमवार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कालो सूचीको डेढ वर्षे अवधि भने पुस १४ गतेदेखि गणना हुने छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कान्छाराम कन्स्ट्रक्सनसँगै छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन चीनको कम्पनी पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छन् ।





