
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद तत्कालका लागि निलम्बनमा नपर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उनको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने भएको हो ।

सांसद श्रेष्ठले आफूलाई गैरकानुनी ढङ्गले निलम्बन गरेको भन्दै सर्वोच्च अदालतमा दिएको रिटमाथि सोमवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गरेको सुनुवाईमा सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको सर्वोच्च अदालतले जनाएको छ ।
श्रेष्ठले आफुलाई मन्त्री बन्ने प्रस्ताव आएको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई सांसदबाट निलम्बन गर्न संसद् सचिवालयलाई सिफारिस गरेको थियो ।