आगलागीमा परी घाइते महिलाको उपचारको क्रममा मृत्यु

पार्बती कार्की-

रामेछाप । खाना पकाउने क्रममा आगलागीमा परी घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मन्थली नगरपालिका–११ गेलु स्थित काउले डाँडागाउँकी ४२ बर्षिया साइलीमाया तामाङ रहेकी छिन् । विहिवार घरमा खाना पकाउने क्रममा आगो शरिरमा सल्किदा गम्भिर घाइते भएकी साइलीमायाको घटनास्थलवाट उद्धार गरी मन्थली अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

आगलागीमा परेकी साइलीमायाको शरिरको धेरै भाग जलेको कारण जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारको लागि किर्तीपुर अस्पतालमा रिफर गरिएको थियो । उनको उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिए ।

एकहप्ता अघि मन्थली नगरपालिका–९ पुरानागाउँमा पत्कर पोल्ने क्रममा एक बृद्धा पनि आगलागीमा परेकी थिइन । उनको उपचारको क्रममा किर्तीपुर अस्पतालमा नै ज्यान गएको थियो । रामेछापमा पछिल्लो समय दैनिक आगलागीका घटनाहरु बढ्दै गएका छन् । आगलागीमा परेर दुईजनाले ज्यान गुमाएका हुन् ।

Scroll to Top