निर्वाचन प्रहरीमा जागिर खुल्यो

रामेछाप । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भन्दै प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरीमा भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहिवार प्रकाशन गरेको सूचना अनुसार निर्वाचन प्रयोजनको लागि देशभर १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो । निर्वाचन प्रहरीमा भर्ना हुन इच्छा राख्ने व्यक्तिले पुस २५ देखि माघ १ गतेसम्म सम्वन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त फाराम लिई दरखास्त पेश गर्नुपर्नेछ । समय छोटो भएकाले सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।

दरखास्त भर्न चाहने व्यक्तिहरुले काठमाण्डौं उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र अन्य सवै जिल्लाका जिल्ला प्रहरी कार्यालय मार्फत दरखास्त फाराम लिई भरेर सोही कार्यालयमा बुझाउन सकिनेछ । साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् ।

आवेदन परेकाहरुको हकमा प्रहरीले माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने सो कार्यालयले जनाएको छ । छनौटमा सफल भएका उम्मेदवारहरुलाई माघ १५ देखि२४ गतेसम्म तालिम प्रदान गरिनेछ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ । निर्वाचन अवधिभर हुने चालिस दिनमा उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् ।

त्यसबाहेक निर्वाचन प्रहरीलाई रासन र आतेजाते खर्च ८४६ रुपैयाँ थप तयारी खर्च समेत पाउने छन् । त्यसैगरी उनीहरले चार दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च र पोसाक बापतको छुट्टै रकम समेत प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Scroll to Top