तामाकोशी नदीमा देखिन छाडे असला माछा

रामेछाप । केही वर्षअघिसम्म तामाकोशी नदीको असला माछा आफुले टन्न खाएर आफन्तलाई कोशेली समेत पठाउने चलन पछिल्ला केही वर्षयता ठप्प भएको छ । नदीमा माछा भेटिन छाडेसँगै कोशेली त परै जाओस् नदी आसपासका व्यक्तिले खान समेत पाउन छाडेका छन् ।

बिगत केही वर्षअघिसम्म स्थानिय माझी समुदायले तामाकोशी नदीमा माछा मारेर आफ्नो जिवीकोपार्जन गर्दै आएका थिए । तर पछिल्ला केही वर्षयता नदीमा विष र करेन्ट प्रयोग गरेर रात दिन माछा मार्न थालेपछि तामाकोशीमा असला माछा मासिदै गएका हुन् । यसरी नदीमा विषादी र करेन्ट लगाउने गर्दा माछा सहित अन्य जलचर प्राणी समेत नष्ट हुने गरेका छन् । अहिले नदी किनारका नागरिकहरुले पनि तराइका विभिन्न जिल्लाहरुवाट आयातित माछाको भर पर्नुपर्ने वाध्यता रहेको छ ।

दुई तीन वर्षअघिसम्म तामाकोशी नदीमा असला माछा प्रसस्तै मात्रामा भेटिने गर्दथे । यसवाहेक नदीमा कत्ले, कटहरे, गोना, सारङ्गी, शहर र गोच लगाएत विभिन्न प्रजातीका माछाहरु पाइने गर्दथ्यो । तर पछिल्लो समय जताततै नदीमा ठूलाठूला डोजर लगाएर उत्खनन् गर्ने, नदीको छेउछाउमा भूमिगत इनार निमार्ण गर्ने र नदीको धार नै परिवर्तन गरी क्रसर उद्योगहरुले नदी उत्खनन् गर्दा नदीमा भएका माछा मासिदै गएको मन्थली नगरपालिका–१ की मञ्जु माझीले बताइन ।

यसवाहेक नदीमा लुकीछिपी करेन्ट लगाउने र विषादी प्रयोग गरेर माछा मार्ने क्रम बढेसँगै नदीमा माछा देखिन छाडेका हुन् । नदीमा करेन्ट लगाएर माछा मार्दा रामेछापमा वर्षेनी एक÷दुई जनाले ज्यान गुमाउँदै आएका छन् । यसवाहेक प्रत्येक वर्ष प्रहरीले दर्जनौ व्यक्तिलाई करेन्ट सहित प्रक्राउ समेत गर्दै आएको छ । तर पनि नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिन भने सकेको छैन् ।

नदीमा माछा बाहेक अन्य लाखौं जलचर प्राणीहरुसमेत करेन्टबाट मर्ने गरेका छन् । स्थानिय केही अगुवाहरुले नदीमा करेन्ट र विषादी प्रयोग गर्नेहरुको निगरानी राखे पनि उनीहरुको आँखा छल्दै रातको समयमा नदीमा करेन्ट लगाउने गरेको मन्थली नगरपालिका–१ हाटेचौरका गोरे माझीले जानकारी दिए । उनले भने– नदीमा करेन्ट र विषादी प्रयोग गर्नु हुँदैन भनेर आफ्नो वस्ती आसपासका नागरिकहरुलाई सचेत त गराएका छौं । तर हाम्रो मात्रको यो अभियानले नदीमा करेन्ट रोक्न सकेनौं । स्थानिय वडा, नगरपालिका र प्रहरी प्रशासनले समेत साथ नदिदा हाम्रो अभियान सफल हुन नसकेको माझी बताए ।

केही समय अघिसम्म माझी समुदायको प्रमुख पेशा नै माछा मार्ने थियो । पछिल्लो समय माझी समुदायले पनि यो पेशालाई छोड्दै आएको स्थानिय रबि माझीले जानकारी दिए । उनले भने– पहिले–पहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा फुर्लुङ भरिने गथ्र्यो । यहाँका स्थानीय माझी समुदायले आलो माछा र सुकुटी बनाएर समेत आफुले खाएर बढी भएको माछा बजारसम्म लगेर बेच्ने गर्दथे । तर अहिले दिनभर कोशीमा जाल हान्दा एकछाक खान पुग्ने माछा पाउन समेत मुस्किल हुन थालेपछि माछा मारेर जिवीकोपार्जन गर्नेहरु पनि यो पेशा छाडेर अन्यत्र पेशामा लागेको बताए ।

करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो । करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाइ दशकअघि नै प्रतिबन्ध लगाइएको छ । २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गरी जलचर प्राणी मारेमा त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर त्यसको कार्यान्वयन भने पूर्णरुमा हुन नसकेको स्थानिय अगुवा रामचन्द्र शर्माले जानकारी दिए ।

Scroll to Top