रामेछाप । विगत ३६ वर्षदेखी निरन्तर रुपमा मन्थली नगरपालिका–२ स्थित बाल ताम्राकौशीका आधारभूत विद्यालयका प्रधानाध्यापक लेखवहादुर खत्रीको सो विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुले रुदै गलाभरी माला र खादा लगाइदिएर बिदाई गरेका छन् ।

उक्त विद्यालयको स्थापनाकालदेखी निरन्तर रुपमा ३६ वर्ष ३ महिना ५ दिनसम्म शिक्षण पेशामा समर्पित रही अध्यापन गरउँदै आएका खत्रीको बिहिवार देखी सेवा निवृत्त भएका हुन् । सेवा निवृत्त भएका खत्रीलाई सो विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो । सो विद्यालयमा अध्ययनरत बालबालिकाहरु आफ्नो शिक्षक विदाई गर्नुपर्दा मुर्छित भएका थिए । विद्यार्थी, शिक्षक र अभिभावकहरुले शिक्षक खत्रीलाई बाजागाजा सहित विद्यालयवाट उनको घरसम्म पुर्याएका थिए ।
शिक्षक खत्रीले आफ्नो दीर्घ शिक्षकीय यात्रामा उनले पाठ्यपुस्तकका अक्षर मात्र होइन, अनुशासन, संस्कार र मानवताको पाठ पनि साना–साना विद्यार्थीका मनमा रोपेका थिए । सरल स्वभाव, स्नेही व्यवहार र समर्पित अध्यापन शैलीका कारण उनी विद्यार्थीहरूका बीच अत्यन्तै प्रिय शिक्षकका रूपमा परिचित थिए ।


उनको योगदानको कदरस्वरूप विद्यालय परिवार, अभिभावक, स्थानीय समाज तथा पूर्व विद्यार्थीहरूले सम्मानसहित विदाई कार्यक्रम सम्पन्न गरेका हुन् । सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक खत्रीको अध्यक्षता तथा वडा नं २ का वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त विदाई कार्यक्रम भएको थियो । विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष कार्कीले प्रअ खत्रीले यस विद्यालयमा ३६ वर्षसम्म निरन्तर शिक्षाको उज्यालो बाल्नु भएकोले विद्यार्थी, समाजले कहिल्यै पनि भुल्न नहुने बताए ।
कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक खत्रीले शिक्षक खत्रीको उत्तरजीवन स्वस्थ, शान्त र प्रेरणादायी रहोस् भन्ने कामना गर्दै उहाँ एक शिक्षक मात्रै नभइ समग्र गाँउ समाजको समेत अभिभावक भै भूमिका निर्वाह गरेको बताए । उक्त विद्यालयको स्थापनाको लागि स्थानिय अग्रज व्यक्तित्वहरु गुञ्जबहादुर खत्री र ध्रुव प्रसाद सुबेदीले महत्वपूर्ण योगदान गरेका थिए ।




