डाक्टरले शब पोष्टमार्टम नगर्दा मन्थली अस्पताल तोडफोड

रामेछाप । अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका नाबालकको शब समयमा पोष्टमार्टम नगरेको भन्दै आफन्तले मन्थली अस्पताल तोडफोड गरेका छन् ।

शनिवार विहान सदरमुकाम मन्थली बजारवाट करम्वोट तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–८ च १२७२ नम्बरको बोलेरो गाडीले सडक छेउमा खेलीरहेका १४ महिने नाबालक कृजल श्रेष्ठलाई ठक्कर दिएपछि उपचारकेो लागि मन्थली अस्पतालमा नै ज्यान गएको थियो । बालकको मृत्युपछि उनका आफन्तले डाक्टरलाई पोष्र्टमार्टम गर्न अनुरोध गर्दा डाक्टरले भोली मात्रै गर्ने भन्दै पन्छिएपछि आक्रोसित भिडले मन्थली अस्पताल तोडफोड गरेको प्रत्यक्षदर्शी मन्थली नगरपालिका–१ का गणेश माझीले जानकारी दिए ।

शुरुमा उपचारको क्रममा नाबालकको अवस्था गम्भिर रहेकाले तत्काल थप उपचारको लागि काठमाण्डौं पठाउनु पर्ने भन्दै चिकित्सकले रेफर गरेका थिए । चिकित्सकले रेफर पत्र बनाएपछि बच्चालाई हेलीकोप्टर तथा गाडीमा कसरी लैजाने भन्दै अभिभावकहरु पैसाको जोहो र अन्य छलफल गर्ने क्रममा ती नाबालक श्रेष्ठको सोही अस्पतामा शनिवार दिउँसो ज्यान गएको थियो ।

उक्त घटनापछि तत्काल नाबालकको शव पोष्र्टमार्टम गर्न अभिभावक र आफन्तले चिकित्सकलाई दवाव दिएका थिए । मन्थली अस्पतालका चिकित्सक डा.सुवोध पोखरेलले विहान दश वजेदेखी वेलुका ४ वजेसम्म मात्रै पोष्टमार्टम गर्न मिल्ने आज समय सकिएकाले भोलीपल्ट मात्रै पोष्टमार्टम हुन्छ भन्दै पन्छिएका थिए ।

बच्चाको शव पोष्टमार्टम गर्न डा.पोखरेलले नमानेपछि आक्रोसित भिडले मन्थली अस्पतालमा तोडफोड गरेका थिए । पोष्टमार्टमको जिम्मेवारी डा. पोखरेलको रहेको छ । यदी डा.पोखरेल नभएको खण्डमा मेसु डा. केशव धामीले समेत गर्न पाउनेछन् । मन्थली अस्पतालमा दुवै डाक्टर हुँदाहुँदै पोष्टमार्टम नभएको भन्दै नाबालकका आफन्तहरुले तोडफोड गरेपछि बाध्य भएर साँझ पोष्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिएका थिए ।

आक्रोसित भिडले अस्पतालमा भएको अक्सिजन सक्सन, टेबुल, कुर्ची लगाएतमा क्षती पुर्याएका छन् । उक्त घटनापछि घटनास्थल पुगेर जिल्ला प्रहरी कार्यालय रामेछापले मुचुल्का तयार गरेको छ । प्रहरीले उठाएको मुचुल्का र सिसि क्यामेरा फुटेजको आधारमा गल्ती कसको हो भन्ने छुट्टाएर आवश्यक कार्वाही गरिने मन्थली अस्पताल श्रोतले जनाएको छ ।

मन्थली अस्पतालको व्यवस्थापनमा फितलो हुँदा पटकपटक यस्ता प्रकारका घटनाहरु घट्दै आएका छन् । बेलाबेलामा मन्थली अस्पतालमा म्याद नाघेका औषधी वितरण, समयमा गर्भवती महिलाको शल्यक्रिया नगर्ने, उपचारको क्रममा हेलचेक्रयाई गर्ने, चिकित्सक नै मादक पदार्थ सेवन गरेर अस्पतालमा गएर होहल्ला गर्ने जस्ता घटनाहरु बढ्दै जादा विरामी र कुरुवाहरु मारमा पर्दै आएका छन् ।

Scroll to Top