रसुवा बाढी प्रभावितलाई गोकुलगंगा गाउँपालिकाले २२ लाख दिने

रामेछाप । एकहप्ता अघि रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको खोज, उद्धार तथा राहातका लागि रामेछापको गोकुलगंगा गाउँपालिकाले २२ लाख ६ हजार ५ सय ७० रुपैयाँ रकम सहयोग गर्ने र उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

उक्त गाउँपालिकाको भदौ १४ गते वसेको कार्यपालिकाको बैठकले रसुवाका बाढी पिडीतको लागि सो रकम आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । जसमा गाउँपालिकाको विपद् कोषवाट १ लाख, जनप्रतिनिधिहरुको मासिक पारिश्रमिकवाट ३९ हजार ३ सय ५० रुपैयाँ, पालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुवाट ५ लाख ६० हजार १ सय ५० रुपैयाँ रकम संकलन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सहायकस्तरका कर्मचारीवाट १३ लाख ७५ हजार २ सय ९० रुपैयाँ र श्रेणीबिहीन कर्मचारीहरुवाट १ लाख ३१ हजार ७ सय ८० रुपैयाँ गरि कुल २२ लाख ६ हजार ५ सय ७० रुपैयाँ एकमुष्ठ जम्मा गरि राहातकोषमा जम्मा गर्ने निर्णय गरिएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीवहादुर खड्काले जानकारी दिए ।

त्यस्तै सो घटनामा परि सम्पर्कबिहीन भएका आफ्नो पालिका भित्रका नागरिकको खोज तथा उद्धारमा सहयोगगार्थ पिडीत परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ । रसुवाको बाढी पहिरोमा परि गोकुलगंगा गाउँपालिकाका इश्वर वहादुर खड्का, लिल बहादुर विक, सुरज श्रेष्ठ र सम्राट शेर्पा गरि चारजना हालसम्म सम्पर्कबिहीन रहेका छन् ।

हालसम्म सम्पर्कबिहीन रहेका चारजना रोजगारीको सिलसिलामा रसुवा स्थित टिमुरे क्षेत्रमा रहदै आएका थिए । उनीहरुको खोजीको लागि परिवारका सदस्यहरुले प्रहरीमा खवर गरेका छन् भने सदस्यहरु पनि खोजीमा तैनाथ रहेका छन् ।

Scroll to Top