रामेछाप । केही महिनादेखी देशभर अस्वभाविक रुपमा निमार्ण सामाग्रीमा भएको मूल्यबृद्धिका कारण निमार्ण उद्योग व्यवसायी मारमा परेकाले तत्काल सबै प्रकारको ठेक्काको मूल्य समायोजन हुनुपर्ने माग राख्दै रामेछाप जिल्ला निमार्ण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय रामेछापमा धर्ना दिएका छन् ।

बिहिवार संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापामगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेका व्यवसायीहरुले सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर केसीलाई ज्ञापन पत्र बुझाएर सोही कार्यालयमा धर्ना समेत दिएका हुन् । व्यवसायीहरुले पछिल्लो समय सिमेन्ट, छड, विटुमिन, डिजेल, मट्टीतेल लगाएत सामाग्रीहरु र ढुवानी खर्च र श्रमिक ज्यालामा समेतमा मूल्यबृद्धि हुँदा निमार्ण उद्योग नै बन्द हुने अवस्थामा पुगेकाले तत्काल समस्याको समाधान गर्न ध्यानकर्षण सहित ज्ञापन पत्र प्रशासनमा बुझाएको हो ।
व्यवसायीहरुले बुझाएको ज्ञापनपत्रमा धेरै व्यवसायीहरुले मूल्यबृद्धिका कारण समयमा काम गर्न नसक्दा घाटा व्यहोर्नुपरेको, टेण्डर निकालेको दररेटमा काम गर्न नसक्ने अवस्था रहेको, धेरै व्यवसायीहरु कालोसूचीमा परेका र बैंक ग्यारेन्टि समेत जफत जस्ता कार्यहरु हुँदा गर्दै गरिएका कतिपय योजनाका कामहरु समयमा काम सक्ने अवस्था नभएकाले बैंक ग्यारेण्टी, विमा तथा थप क्षतिपूर्ति सहित म्याद थप र बजेट व्यवस्थापनको समेत माग राखेर ज्ञापनपत्र बुझाउनुको साथै व्यवसायीहरुले धर्ना समेत दिएका हुन् ।





