मन्थलीमा ग्यास व्यवसायीको मनपरी भण्डारण,नियामक निकाय मौन

रामेछाप । सदरमुकाम मन्थलीका खाना पकाउने एलपी ग्यास व्यवसायीहरुले सुरक्षा संवेदनशिलतालाई वेवास्था गर्दै मापदण्ड विपरित ग्यास सिलिण्डर भण्डारण गर्ने गरेका छन् । व्यवसायीले मनलाग्दी ढंगले ग्यास भण्डारण गरिरहदा अनुगमन गर्ने नियामक निकाय भने मौन रहदै आएको छ ।

संवेदनशील र अत्यन्त प्रज्वलनशील पदार्थका रुपमा रहेको ग्यास सिलिण्डर सुरक्षित गोदाममा राखिनु पर्नेमा व्यवसायीहरुले त्यसको वेवास्था गर्दै खुल्ला डाउँमा भण्डारण गर्दा आसपासका वस्ती तथा सर्वसाधारणको सुरक्षाप्रति गम्भिर प्रश्न उठेको छ । सयांैंको सख्यामा ग्यास सिलिण्डर खुल्ला रुपमा राखिदा त्यसवाट हुने सम्भावित आगलागी, ग्यास चुहावट वा अन्य दुर्घटना भएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

मन्थलीजस्तो बाक्लो बस्ती र मुख्य व्यापारीक क्षेत्रमा खुल्ला रुपमा ग्यास भण्डारण गर्दा नागरिकहरुमा त्रास उत्पन्न भएको छ । ग्यास भण्डारण गर्दा त्यसको सुरक्षा अवस्था, भण्डारणस्थलको मापदण्ड, अग्नी नियन्त्रणको व्यवस्था तथा आपतकालिन अवस्थामा अपनाइने सुरक्षा उपायका बिषयमा गम्भिर हुनुपर्नेमा त्यसको वेवास्था गर्दै व्यवसायीहरुले ग्यास भण्डारण गर्दै आएका छन् ।

खुल्ला ठाउँमा सयौं सिलिण्डर ग्यास मापदण्ड विपरित भण्डारण गरिएकाले तत्काल स्थानीय प्रशासन, स्थानिय तह लगाएत सम्वन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने उपभोक्ता संरक्षण मञ्च रामेछापका सचिव दीपक कुमार कार्कीेले जानकारी दिए । उनले भने– वस्ती तथा मानिसको आवतजावत हुने क्षेत्रसँग नजिकै ग्यास सिलिण्डर राखिदा कुनै अप्रीय घटना भए त्यसको क्षती गम्भिर हुनसक्छ । त्यसैले तत्काल भण्डारणस्थलको सुरक्षा अवस्था, सिलिण्डरको संख्या, भण्डारणको स्वीकृती तथा प्रचलित मापदण्ड पालना भए नभएको जाँच तत्काल गर्नुपर्ने कार्कीले बताए ।

ग्यासजस्तो संवेदनशिल पदार्थको भण्डारणमा लापरवाही भए त्यसको असर व्यवसायीमा मात्र सिमित नहुने भएकाले ग्यास विक्रेता व्यवसायीहरुले भण्डारणमा ध्यान दिनुपर्ने, खुल्ला ठाउँमा ग्यास भण्डारण गर्न नहुने रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । उनले भने– व्यवसायीहरुले यत्रतत्र ग्यास भण्डारण गरको भन्ने गुनासो नागरिकहरुवाट आएकाले तत्काल यसलाई व्यवस्थीत गर्नुपर्ने श्रेष्ठले बताए ।

बजारमा ग्यास विक्रेताहरुले मनलाग्दी तरीकाले ग्यास भण्डारण गरेको पाइएको भएता पनि अनुगमनको क्रममा ग्यास मौज्जातको बिषयलाई लिएर मात्रै अनुगमन गरेकाले चाडै सुरक्षा संवेदनशिलतालाई हेरेर ग्यास भण्डारणको बिषयमा अनुगमन गर्ने उद्योग, बाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले जानकारी दिए ।

उनले भने– कतिपय व्यवसायीहरुले अटेर पनि गर्ने गरेका छन् । ग्यास भण्डारण उनीहरुले आफ्नो तरिकाले गर्दै आएका छन् । भण्डारण गर्दा सुरक्षाको पालना गर्नुपर्ने हुन्छ । यसबिषयमा तत्काल अनुगमन गछौं, अटेर गर्ने व्यवसायीलाई आवश्यक जरिवाना गर्ने प्रमुख घिमिरेले बताए ।

Scroll to Top