पर्यटकको पोखरीमा डुबेर ज्यान गयो

काठमाण्डौं । रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर ज्यान गएको छ ।

पोखरीमा डुबेर ज्यान जानेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी सुनारको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो । उनका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत रहेका छन् ।

श्रीमती पोखरीमा नुहाउन थालेपछि छोरा साथमा लिएर केही पर पुगेर बसेका उमेश धेरै समयसम्म पनि श्रीमती नआएपछि नुहाउन थालेको ठाउँमा हेर्न आउँदा श्रीमतीलाई मृत अवस्थामा देखेपछि उनले प्रहरीमा खबर गरेका थिए । घटनापछि तत्काल इकाला प्रहरी कार्यालय पोवाङबाट प्रहरी टोली उक्त स्थानमा पुगेको थियो ।

प्रहरीले शवको स्थलगत मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Scroll to Top