रामेछाप । दोश्रो मन्थली नगरकप रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगीताको उपाधि मन्थली नगरपालिका–७ भटौलीले हात पारेको छ ।
शनिवार सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको प्राङणमा मन्थली नगरपालिका–७ भटौली र मन्थली नगरपालिका वडा नं–१ बिच भएको फाइनल खेलमा भटौलीले मन्थली–१ लाई २२–२५, २३–२५, १९–२५ ले हराउँदै भटौलीले नगर कपको शिल्ड हात पार्न सफल भएको हो । प्रतियोगीतामा प्रथम स्थान हात पार्न सफल भएको भटौलीले १ लाख नगद, सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी खेलमा उप–विजेता भएको मन्थली वडा नं–१ ले ७५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो स्थान हासिल गर्ने मन्थली वडा नं–८ चिसापानीले ५० हजार नगद, ट्रफि, शिल्ड, प्रमाणपत्र हात पारेको छ । त्यस्तै सान्तवना पुरस्कार मन्थली नगरपालिका–४ सालुले हात पार्न सफल भएको छ । उसले नगद ३० हजार, ट्रफि,शिल्ड र प्रमाणपत्र समेत हात पार्न सफल भएको छ ।
मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोश्रो नगरकप खेलकुद प्रतियोगीतामा विभिन्न ७ विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वोत्कृष्ट खेलाडीलाई जनही ३ हजार ५ सय नगद प्रदान गरिएको थियो । बुधवारदेखी शुरु भएको उक्त खेलकुद प्रतियोगीता शनिवार सम्पन्न भएको छ । खेल प्रतियोगीतामा मन्थली नगरपालिका भित्रका १४ वटै वडावाट खेलाडीहरुको सहभागीता रहेको थियो ।
खेल समापन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र उप–प्रमुख ईश्वरी बस्नेतले विजेता खेलाडीहरुलाई सयुक्त रुपमा नगद, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । खेल हेर्न दैनिक सयौंको संख्यामा दर्शकहरु उपस्थिती भएका थिए ।