रामेछाप । खाँडादेवी गाउँपालिकाका प्राविधिक कर्मचारीहरुमाथी स्थानिय केही व्यक्तिले हातपात गरेपछि सो गाउँपालिकामा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीहरुले सयुक्त रुपमा विहिवार राजिनामा पेश गरेर काम ठप्प पारेका छन् ।

सो गाउँपालिका वडा नं ५ मा खानेपानीको लागि विनियोजीत १ लाख रुपैयाँवाट खानेपानी लाइन खन्ने र पुर्ने कामको लागि प्राविधिक इष्टमेट भएको थियो । इष्टमेट अनुसारको काम नभएपछि प्राविधिक कर्मचारीले जती काम भयो त्यती मात्रैको मूल्यांकन गरी काम अनुसारको रकम मात्रै भुक्तानी गर्ने भनेपछि सोही विषयलाई लिएर खाँडादेवी गाउँपालिका ५ का प्रेम तामाङले सव–इन्जिनियर हरी मानन्धरलाई हातपात गरेका थिए ।
सोही बिषयलाई लिएर गाउँपालिकाका सबै प्राविधिक कर्मचारीहरुले सुरक्षाको प्रत्याभुति र दोषि उपर कानुनी कारवाहि नभएसम्म काममा नफर्कने जनाउँदै सामुहिक राजिनामा प्रमुख प्रशासकिय अधिकृत समक्ष बुझाएको खाँडादेवी गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुंगेलले जानकारी दिए । उनले भने– काम भए अनुसारको प्राविधिक मूल्यांकन गरी त्यही अनुसार रकम भुक्तानी गर्ने भन्दा तामाङले पुरै रकम नदिए तलाई मार्छु भन्दै कर्मचारी माथि गालिगलौज गर्ने, हातपात गर्ने र ज्यान लिनेसम्मको धम्की दिएकाले यस्तो अवस्थामा कर्मचारीले फिल्डमा गएर काम गर्नसक्ने अवस्था नभएपछि वाध्य भएर राजिनामा दिनुपरेको बताए ।



प्राविधिक कर्मचारी माथि हातपात गर्ने तामाङलाई ईलाका प्रहरी कार्यालय चोप्रांङले हिजै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि वढाएको जनाएको छ । प्राविधिक कर्मचारीहरुले राजिनामा बुझाएपछि सो गाउँपालिकामा भए गरेका विकास निमार्णका कामहरुको अनुगमन, मूल्यांकन भुक्तानी लगाएतका सवै कामहरु रोकिएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युगेश कुमार यादवले जानकारी दिए । उनका अनुसार हिजोको घटनालाई लिएर आज (शुक्रवार) छलफलको लागि इलाका प्रहरी कार्यालय चोप्राङमा डाकिएकाले त्यसतर्फ जान लागेको बताए ।




